मैले छोडिदिएँ


बा! मैले केही लेख्नै छोडिदिएँ
लेख्दालेख्तै कृष्णलाल बन्नुपर्ने
यो कलमको जिउँदो इतिहास बोकेको घरमा
मैले केही लेख्नै छोडेँ

आमा! मैले उमङ्गका 
कुनै रङ छुनै छोडिदिएँ
रङ्गिँदा रङ्गिँदै रङ्गहीन हुनुपर्ने 
यो विभेदको श्रृङ्गारले सजिएको 
समाजमा मैले रङ्गीनै छोडेँ

दाई! मैले सुन्दर भविष्यको
सपना देख्नै छोडिदिएँ 
बैँस नफुल्दै पासपोर्टको बुई चढ्नुपर्ने 
यो सपना बेचेर पेट पाल्नुपर्ने देशमा 
मैले सपना देख्नै छोडेँ

दिदी! 
मैले आफैँलाई चिन्नै छोडिदिएँ।
जति पढ्यो उति खाली हुनुपर्ने
यो मुखुण्डोधारी राजनीतिको भीडमा,
 मैले ऐनामा 
आफ्नै अनुहार चिन्नै छोडेँ

ए घर! ए देश!
ए समाज! हे ढोँगी राजनीति!
तिमीहरूको रगत मेरो मसी भए पनि
तिमीहरूकै इतिहास मेरो कलम भए पनि
मैले छोडिदिएँ-
तिमीहरूको झूटो गुणगान लेख्न
0:000:00