कुन वर्ष?

~(कवि १६ वर्षकै हुँदा रचित कविता)


रोजगारीको रोग निको पार्न
अर्थतन्त्रको भोक कम गर्न
न्याय र समानताको फाइल बोकेर
आश्वासनका अड्डाहरू र अदालतहरू धाएर
स्वतन्त्रताको आन्दोलनमा होमिएको
एउटा भिडलाई छिचोलेर

च्याट्ट कोट र पाइन्टमा सजिएर
आदर्शहरूको कपाल खौरिएर
निम्बुखाहरूको अग्रज भई ठडिएर
खोक्रा शब्दको तुनी फुकाल्दै,
एउटा पढेलेखेको अनपढ फुत्त मञ्चमा चढ्यो

पल्ट्याउँदै भागवत गीताका ठेलीहरू
ओकल्दै उसका तीता बोलीहरू
भाषण गर्न थाले -
जनता हो ,
हामीले ठड्याउनुपर्छ सभ्यताको अग्लो धरहरा
हामीले पन्छ्याउनुपर्छ संकटका यी काला बादल
हामीले फैलाउनुपर्छ शान्तिको फर्सीको झालहरू
हामीले मेट्नुपर्छ बेरोजगारीको यो दर्दनाक छटपटी
तर अर्को वर्ष!
0:000:00