घडी र चक्रव्यूह


भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर सुरु भइरहन्छ-
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह

घडीसगैँ  
अँध्यारो चिर्दै बास्छ भाले
निद्रा चिर्दै बिउँझन्छ एउटा लास
समय चिर्दै खुल्छन् सारा झ्यालढोका
आयु र स्मृति चिर्दै उठ्छ काल

यही घडीले सिकाएको छ
आफ्नै छातीभित्रको ढक्ढकीलाई
बाहिरको सुईसँग मिलाएर हिँड्न
र त्यो मिलन नभएको दिन
आफूलाई नै बिग्रेको ठान्न

यही घडीले
मान्छेलाई झुण्ड्याएको छ
आफ्नो चक्रव्यूहमा युगयुगदेखि
कहिले राजाको सुईमा
कहिले सामन्तको घण्टामा
कहिले बजारको मिनेटमा
कहिले एल्गोरिदमको सेकेन्डमा

यही घडीले
आफ्नो साँघुरो डायलभित्र थुनेको छ बीपीको विद्रोह
आफ्नै दाँतीले किचेको छ मदनका सपना
यसैको सुईले कोतरेर रक्ताम्बे छ-
सुस्ताको माटो
र लिम्पियाधुराको नक्सा

यही घडीले फसाउँछ मान्छेलाई
आफ्नो चक्रव्यूहमा
कहिले भिसाको म्याद बनेर
कहिले ऋणको किस्ता बनेर
कहिले छोराछोरीको स्कुल फी बनेर
कहिले महङ्गीको ग्राफ बनेर

कहिलेकाहीँ म सोच्छु
यदि घडीको सुई बन्द भए
बिउँझिन्थे कि ती आँखाहरू
जो यो चक्रव्यूहमा निदाइरहे
बाँच्थे कि ती मान्छेहरू
जो समयभन्दा पहिले थाकिसके
तर सुई रोकिँदैमा समय कहाँ रोकिन्छ र?

त्यसैले त
भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर जारी छ
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह।
0:000:00